मणिपुरमा नेपाली नाट्य परम्परा र प्रवृत्ति

 

 

मणिपुरमा नेपाली नाट्य परम्परा र प्रवृत्ति


   
संगोष्ठीपत्र

डा.
गोमा देवी शर्मा

मणिपुर

 

सारांश- विभिन्न
परिस्थितिको चपेटमा परेको मणिपुरेली नेपाली साहित्यमा स्वतन्त्रतापूर्वनै नाटकको
सूत्रपात भएको थाहा लाग्छ। प्रारम्भमा धार्मिक विषयमा आधारित नाटक लेखिएता यस
क्षेत्रमा सन् 1942मा मौलिक नाटकको सूत्रपात भएको थाहा लाग्छ। प्रारम्भिक नाटकहरू
लिखित एवं मञ्चित भएता पनि मुद्रित हुन सकेनन्। यसरी दीर्घ समयसम्म मणिपुरको
भूमिमा धेरै नाटकहरू सृजित हुँदै गएको देखिन्छ। मणिपुरमा दशैं तिहारको अवसरमा
प्रत्येक ग्राम स्तरमा नाटक लेख्ने र मञ्चन गर्ने परम्परा आजसम्म पनि देखा परेकै
भएता पनि लेखक
, कवि, गीतकार, नाटककार कमल थापा प्रकाशकोउदय पछाड़ि यसले राम्रो प्रगति गरेको
देखिन्छ। उनले एक दर्जन जति नाटक लेखेर गरेर मणिपुरेली नेपाली नाटक परम्परालाई
एउटा पुष्ट गति प्रदान गरेको देखिन्छ। यस संगोष्ठी पत्रमा मणिपुरेली नेपाली नाटक
परंपरा र प्रवृत्तिमाथि विस्तारमा चर्चा गरिने छ।

 

विषय प्रवेश– मणिपुरेली नेपाली समाजमा नाट्य
परम्पराको सूत्रपात भारत स्वतन्त्र हुनुभन्दा अघिनै भएको हो भन्ने प्रमाणहरू
प्राप्त भएका छन्। गोर्खा जातिले मणिपुरमा बसोवास गर्नपछि धेरै कारणहरू रहेका छन्।
तीमध्ये एउटा कारण असम राइफल्स हो। यसमा सेवारत गोर्खाहरूमा केही साहित्यप्रेमी
पनि थिए। उनिहरूको साहित्यप्रेम नै मणिपुरेली गोर्खाली समाजमा नाट्य परम्पराको
सूत्रपातको कारण बन्नपुग्यो।

इम्फालमा
तैनात चौथो असम राइफल्स मणिपुरेली नेपाली नाटकको जन्म थलो थियो। थियेटरको सुविधा
नभए तापनि बड़ा दशैंको अवसरमा अस्थायी मञ्च निर्माण गरेर एकाङ्की
, प्रहसन वा लघुनाटकहरू हर्षोल्लासका साथ
मञ्चन गरिन्थ्यो भन्ने कुराको तथ्य पुराना बुढ़ा पाकाहरूबाट प्राप्त हुन्छ।
तत्कालीन नाटकहरू मौलिक नभएर धर्मशास्त्रमा आधारित हुन्थे। धर्मशास्त्रमा वर्णित
कथा प्रसंगहरूलाई रङ्गमञ्चीय आवरण प्रदान गर्दै लोक सामु राखेको देखिन्छ।

नाट्य
क्षेत्रमा मेजर हेमबहादुर लिम्बुको स्थान अग्रगण्य छ। यिनी मणिपुरेली गोर्खा
समुदायका प्रथम नाटककार थिए भन्ने कुरामा कुनै संशय छैन। सन् 1942 मा लिम्बुद्वारा
निर्देशित नाटक राजा हरिश्चन्द्रको दशैंको अवसरमा चौथो असम राइफल्समा
सफलतापुर्वक मञ्चन गरियो। यसको सफलताले यिनको मनोबल दृढ़ भयो र यस पश्चात यिनले कृष्णजन्म
,  सीताहरणसती रानक देवीको क्रमशः
सफलतापूर्वक मंचन गरे। यसपछि प्रतापचन्द्र राईद्वारा निर्देशित नाटक जयद्रथ वधले
पनि त्यसताका निकै प्रसिद्धि हासिल गरेको कुरा बुझिन्छ।

माथि
उल्लेख गरिएका नाटककारहरू पछि चौथो असम राइफल्समा टी.बी.चन्द्र सुब्बा मौलिक नाट्य
क्षेत्रमा देखा परे। कालिया दमनबहिनीको लागि यिनका सफल नाटकहरू
थिए। प्रथम नाटकको आधार कृष्ण चरित्रमा वर्णित कथा कालिया दमन थियो भने दोस्रो
नाटक बहिनीको लागि नितान्त मौलिक थियो। यसरी टी. बी. चन्द्र सुब्बा मणिपुरेली
नाट्य क्षेत्रमा मौलिक नाटकलेखनको परम्पराको सूत्रपात गर्ने नाटककारको रूपमा देखा
परे।

सन्
1942 मा शुरू भएको यो परम्परा सन् 1950 सम्म अबाध गतिमा अघि बढ़ेको देखिन्छ। यसपछि
मणिपुरका अन्य ठाउँहरूमा पनि नाटक मञ्चनको कार्य शुरू भएको देखिन्छ। दशैं
, तिहारको अवसरमा एकाङ्की, हास्य-व्यङ्ग्य नाटक वा अन्य नाटकहरूको
मंचनगर्ने एउटा परम्परा नै बसेको देखिन्छ।

मौलिक
नाटक लेखन परम्पराको क्षेत्रमा काङ्ग्लातोंग्बी निवासी स्वर्गीय कमल थापा
प्रकाशको ठूलो योगदान रहेको पाइन्छ। यिनले आफ्नो जीवनको छोटो अवधिमा
दशवटाभन्दा बढी मौलिक नाटकहरूको प्रणयन र मंचनगरि नेपाली नाट्य परम्परालाई अघि
बढ़ाएको पाइन्छ। तर यिनको असामयिक निधनले यो परम्परा पनि अँध्यारोतिर विलीन भएको
देखिन्छ। यी नाटकहरू सबै पाण्डुलिपिमा नै सीमित रहे र कतिपय नाटकहरूको जगेडा हुन
सकेन। वर्तमानमा आएर गोर्खा ज्योति प्रकाशनले कमल थापाका प्राप्त नाटकहरूमा त्याग
प्रकाशित गरिसकेको छ र साथै अन्य नाटकहरू पनि प्रकाशित गर्ने जमर्को गर्दै छ।

 

स्व.
कमल थापा
प्रकाश

सन्
1958 मा चिङमैरोङ नेपाली बस्तीमा जन्म लिएका कमल थापा बाल्यकालदेखि नै चिन्तनशील
थिए। यिनको यही चिन्तन साहित्यको रूपमा प्रतिफलित हुनपुग्यो। नाटकको क्षेत्रमा कमल
थापा
प्रकाशले 70 को दशकमा प्रवेश गरेको देखिन्छ। यिनका सबै नाटकहरू सामाजिक
विषयमा आधारित छन्। सामाजिक विघटन
, सामाजिक
सम्बन्ध
, पारिवारिक समस्या, गाउँले राजनीति, आदर्श प्रेम आदि विषयहरूलाई ध्यानमा
राख्दै नाटकहरू लेखिएका थिए भन्ने कुरा थाहा लाग्छ। सन् 1973 मा यिनको प्रथम मौलिक
नाटक सिन्दुरको मञ्चन काङ्ग्लातोंग्बीमा भयो। यसको सफलताले यिनको हौसला
दोब्बर भयो। यस नाटकद्वारा कमल थापा एउटा सफल नाटककारको रूपमा उभिन सफल भए। यसपछि
यिनले अन्य नाटकहरूपनि लेखे र मंचनगरे। हारजीत (1975)
, सुस्केरा (1977), निश्छल स्मृति,  ममता,  कलङ्क,  घर-घरको कथा आदि नाटकहरूको मञ्चन धूमधामसँग भएको
थाहा लाग्छ। सन् 1978 मा यिनले अखिल मणिपुर गोर्खा विद्यार्थी सङ्गठनको
तत्वावधानमा आफ्नो निर्देशनमा स्वर्गीय लक्ष्मीप्रसाद देवकोटा रचित मुनामदनको
पाओना बजार इम्फालमा स्थित रूपमहल थियेटरमा मञ्चन गरे। यसको सफल मञ्चनपछि यस
नाटकको माग मणिपुरका अन्य क्षेत्रमा भएकोले ए.आर. कोलोनी
, असम राइफल्स, साइकुल आदि क्षेत्रहरूमा उत्साहका साथ
यसलाई प्रदर्शित गरियो। यसरी कमल थापा
प्रकाश नेपाली नाट्यजगतका एउटा सशक्त, सफल र चर्चित नाटककार बन्न पुगे। यिनको
ममता नाटक अधूरो रहेको थाह लाग्छ। यो नाटक पूरा हुन नपाउँदै यिनी बिरामी परेको र
यस सन्सारबाट सँधैका लागि विदा भएको देखिन्छ। यसरी मणिपुरेली नेपाली नाटकले एउटा
जाज्वल्यमान नक्षत्र सन् 1991मा असमय नै गुमायो जसको क्षतिपूर्ति कदाचित हुन सक्दैन। 

            त्याग नाटक कमल थापाको प्रथम प्रकाशित नाट्य
रचना हो। यो गोर्खा ज्योति प्रकाशनद्वारा अक्टोबर 2015 मा प्रकाशित गरियो। यो
पारिवारिक समस्यामा आधारित नाटक हो। 20 दृश्यमा विभाजित यस नाटकमा लेखकले पात्रको
माध्यमबाट यथार्थ जीवनमा आइपर्ने घटनाहरूलाई रोचक ढङ्गले पस्किएका छन्। यसको भाषा
सरल
, सहज नेपाली भाषा हो र पात्रानुसार कतै
अङ्ग्रेजी शब्दहरूको सटिक प्रयोग गरेको पनि देख्न पाइन्छ। सम्वादहरू सारगर्भित र
घटनाक्रमलाई अघि बढाएर लैजानमा सक्षम छन्। मञ्चनको दृष्टिले हेर्दा त्याग
नाटकमा सबै गुणहरू विद्यमान रहेको पाइन्छ। कुनै पनि यस्तो दृश्य पाइँदैन जस्लाई मञ्चन
गर्न सकिँदैन।

देशकाल
र परिस्थितिलाई हेर्दा पनि कमल थापकाका नाटक सफल छन्। 70 को दशकमा रहेका सामाजिक
कुरीति साथै शिक्षालाई अङग्रेजी परम्पराको पर्याय मान्दै नशा सेवन वा अन्य वृत्तिलाई
सभ्यता मानने पीढ़ीको राम्रो चित्रण साथै आदर्शवादी परम्पराको स्थापना गरिएको छ।

 

महेश
पौड्याल

महेश
पौड्याल नाटक क्षेत्रमा देखा परेका अर्का कुशल नाट्यकार हुन्। यिनले सन् 1990 मा दाजुको
कर्तव्य
नाटकको लेखन र निर्देशन गरेर मणिपुरको इराङमा मञ्चन गरेका थिए।
त्यसपछि 1999 मा देशको माटो र 2001 मा दाइजो शीर्षकका नाटक पनि यसै
गरी लेखन
, निर्देशन र मञ्चन काङ्ग्लातोंग्बीमा गरेका
थिए। प्लेटोको प्रसिद्ध आलेख एलेगोरी आफ द केभको नाट्यरूपान्तरण गरी
निर्देशनसम्म गरेका पौड्यालले यस नाटकलाई सन्2002 मा भक्तपुर नेपालमा मञ्चन गरेका
थिए। त्यसै गरी 2008 मा यिनको नाटक चङ्गा यिनकै निर्देशनमा राष्ट्रिय
बालनाटक महोत्सवमा दुईपटक मञ्चिचत भयो। 2011 मा यिनले आमा नहुँदा एक साँझ
नामक एउटा एकाङ्की सङ्ग्रह प्रकाशित गरे। यस सङ्ग्रहमा सङ्कलित नाटकहरूमा बिगौती
त खाने खाने
मा यिनले आफैं अभिनय गरेर सरिन भ्याली स्कुलको उत्पादनामा रुसी
सांस्कृतिक केन्द्र (काठमाडौं) मा मञ्चन गरे। सन् 2012 मा यसै सङ्ग्रहभित्रको नाटक
आमा न हुँदा एक साँझ शैली थिएटरले चौथो बालनाटक महोत्सवमा प्रस्तुत गऱ्यो।
यसले राष्ट्रिय स्तरमा प्रसिद्धि कमाउन सफल भयो। यसबाहेक यिनले अन्तोन चेखभको भान्का
द बियर
, अलेक्सेन्दर पुस्किनको द सोट
निकोलाई
गागोलको ओभरकोट र रसियाली
लोककथा बाबा यागाको नेपालीमा नाट्यरूपान्तर गरी सफल मञ्चन गरे।

            महेश पौड्यालका नाटकहरूमा सामाजिक चिन्तनको
राम्रो चित्रण भएको पाइन्छ। साथै यीनले यूरोपेली नाटकहरूलाई नेपाली रूपान्तर गरी
यूरोपेली र पूर्वेली नाटकको साँघु बनने महत प्रयास गरेका छन्। यीनले  नाटकमा सरल र सबै स्तरका मानिसले बुझ्ने नेपाली
भाषाको प्रयोग गरेका छन्।

 फुटकर नाटकहरू

नाटक
लेखनमा सघाउ पुऱ्याउने धेरै यस्ता रचनाकारहरू पनि मणिपुरेली नेपाली समाजमा फेला
परेका छन् जसले मञ्चनका लागि प्रशस्त मात्रामा नाटकहरू लेखे। यी नाटकहरू विशेष
रूपमा बड़ा दशैँको अवसरमा मञ्चन हुने गर्दथे। सन् 80-90 को दशकसम्म यस्ता
नाटकहरूको मञ्चन मणिपुरमा धेरै भएको कुरा समाजका बुजुर्गहरूबाट थाहा लाग्दछ। यी
नाटकहरूको म़ञ्चन गराए पश्चात पुस्तकाकार रूपमा प्रकाशन नभएको र यिनीहरूको बारेमा
कसैले कुनै पनि इतिहास ग्रन्थमा नलेखिदिएको हुनाले रचनाकारहरूले ओझेलमा परेर बस्नु
परेको छ। यहाँ यिनै नाट्यकार र उनीहरूका नाटकहरूको नामोल्लेख गर्ने प्रयास गरिएको
छ।

            काङ्ग्लातोंग्बी प्रान्त प्रारम्भबाट नै
नेपाली साहित्य विकासको गढ़ रहेको हुनाले यस क्षेत्रबाट पनि प्रशस्त मात्रामा
नाटकहरू लेखेको र मञ्चन गरिएका तथ्यहरू फेला परेका छन्। यस्ता नाटकहरूमा चुडामणि
चापागाईं रचित प्रहारको चोट (1984)
, नौलो
बिहान
(1985), वेदना (1987), आ-आफ्नो व्यथा (1988), तारसिंह बिष्ट रचित आँसु (1984), फेरि खाँडो पखाल्नै पर्छ (1986),  चुड़ामणि खरेल रचित अर्चना (1986), रोशन कुमार उप्रेती रचित त्याग एउटा
प्रेम कथा
(2001)
, लक्ष्मण शर्मा रचित उपहार (2002), समर्पण (2005), शिवकुमार बस्नेत रचित महिमा (2003) दशैंको मौकामा बड़ो उत्साहका साथ
सफलतापूर्वक मञ्चित भएका नाटकहरू हुन्।

कौब्रुलैखा
ग्राममा पनि धेरै नाटकहरू मञ्चित भएका थिए। यस्ता नाटकहरूमा पं. नारायण प्रसाद
शर्माद्वारा रचित हरिश्चन्द्र (1972)
अमर प्रेम (1976), काजी मोक्तान रचित छोरीको जन्म
हारेको कर्म
(1978)
, प्रेम दाहाल रचित बदला (1884), गौरीमान भट्टराई रचित खूनको कसम (1991) प्रमुख मञ्चित नाटक हुन।

 मुकुली ग्रामबाट नन्दलाल बजगाईं रचित आँसु सरिको हाँसो, अकाल मृत्यु, अभिलाषा, पवित्र प्रेम, अनुसन्धान, बिदाई चन्द्रमानबाट स्व. लक्ष्मीप्रसाद
मैनाली रचित प्रतिशोध (1993)
, तोरीबारीबाट
शिवलाल भण्डारी
,  इराङ्गबाट मणिकुमार पौड्याल, गोविन्द न्यौपाने र टिकाराम पौड्याल, गोमा शर्मा आदिले नाटक रचना गरेर मञ्चन
गराएको पाइन्छ।

90 कै दशकमा कालापहाड क्षेत्रमा प्रकाश
सिवाकोटी एउटा राम्रा नाटककारको रूपमा देखा परे। यिनका धेरै नाटकहरू बर्षेनी मञ्चित
भएको कुरा स्वयं सिवाकोटी बताउँछन्। यिनका सबै नाटकहरू सामाजिक भावबोध युक्त रहेका
छन् तर पुस्तक रूप दिनप्रति असमर्थ रहेको कुरा लेखकले जनाएका छन्।

निष्कर्ष – तुलाचन आलेद्वारा सन् 1993 मा थालनी
गरिएको मणिपुरेली नेपाली साहित्य परम्परा तीव्र गतिमा अघि बढ़न न सकेता पनि यसमा
समय समयमा विभिन्न  विधाहरूको जन्म भइनै
रहेको छ र नाटक साहित्यको विशेष स्थान छ। सबै नाटकहरू मुद्रित न भएता पनि असङ्ख्य
नाटकहरूको लेखन र मञ्चन भइसकेको तथ्यलाई नकार्न सकिँदैन। अहिलेसम्म मुद्रित रूप
नाटकलाई नेपाली नाटय जगतमा ल्याउने जुन प्रयास गोर्खज्योति प्रकाशनले गरेको छ
त्यसमा प्रकाशनले अवश्य सफलता पाउनेछ र अरू नाटकहरू पनि मुद्रित रूपमा निस्कने छन्
भन्ने दृढ़ आशा राख्न सकिन्छ। 

 

 

सन्दर्भ
ग्रन्थ

1. भारतीय नेपाली साहित्यको विश्लेषणात्मक
इतिहास-गोमा दे.शर्मा, शोधग्रन्थ
, मणिपुर
विश्वविद्यालय
, 2009

2. मणिपुरमा नेपाली जनजीवन, मुक्ति गौतम-नेपाली साहित्य परिषद, 1999

3.मणिपुरमा नेपाली साहित्यः एक
अध्ययन-डा. गोमा दे. शर्मा
,
गोर्खाज्योति प्रकाशन, 2016

4.मौखिक श्रोत-रामप्रसाद पौडेल, चुड़ामणि चापागाईं, शिवकुमार बस्नेत, प्रधान, काङ्ग्लातोंग्बी ग्राम पञ्चायत, तारासिंह
विष्ट आदि।

  

Author

  • डॉ.गोमा देवी शर्मा (अधिकारी)

    डॉ.गोमा देवी शर्मा (अधिकारी) गुवाहाटी, असम की निवासी हैं और पेशे से एक शिक्षिका हैं। इन्होंने हिंदी विषय में स्नातक, स्नात्कोत्तर, बीएड एवं पीएचडी मणिपुर विश्वविद्यालय से और नेपाली में गुवाहाटी विश्वविद्यालय के आइडोल केंद्र से की है। ये मूल रूप से नेपाली, हिंदी और अंग्रेजी में लिखती हैं। ये पूर्वोत्तर भारत की एक हिंदी सेवी हैं। ये भारतीय नेपाली साहित्य की अध्येता हैं। इनकी हिंदी तथा नेपाली में कई पुस्तकें प्रकाशित हैं

Leave a Comment

error: Content is protected !!