ऋषि
पञ्चमी र रजोधर्म

                     डा.
गोमा देवी शर्मा (अधिकारी)

                मणिपुर

          नेपाली
समुदायमा विभिन्न समयमा विभिन्न चाडपर्वहरु मनाउने चलन छ। दशैं, तिहार, रामनवमी,
जन्माष्टमी, अक्षय तृतीया, शिवरात्री, तीज आदिको नाउँ लिन सकिन्छ। हरेक
चाडपर्वहरुमा विभिन्न देवी-देउताहरुको पूजा गरिन्छ। सबै पूजाहरु नारी पुरुष, बाल
वृद्ध सबैले भक्ति भावसँग गर्ने गरिन्छ। यसैगरि ऋषि पञ्चमी नेपाली समुदायको एउटा
धार्मिक पर्व हो जुन चाहिँ विशेषगरि नारीहरुद्वारा पालन गरिन्छ।

ऋषि पञ्चमी
भदौ महिनामा मनाइने तीजसँग जोडिएको एउटा पर्व हो। यो भाद्र शुक्लपक्षका पञ्चमीको
दिन पर्दछ। यस विशेष दिनमा हाम्रो समाजमा मासिकधर्म शुरुभएका युवती तथा नारीहरुले व्रत
राख्दछन्। यो दिन नेपाली नारीहरुको हर्षोल्लासको दिन हो भन्न पनि सकिन्छ।

ब्रह्माण्ड
पुराणमा उद्धृत प्रसंग अनुसार यो व्रत प्रारम्भमा सबै वर्णका पुरुषहरुले गर्नु भनी
निर्देशित थियो जसमा सप्तऋषिहरुको पूजा गरिन्थ्यो तर कालान्तरमा मात्रै यो
नारीहरुका लागि हो भन्ने मानियो। (ब्रह्माणड पुराण, व्रत भाग। पृ. 568-572)

व्रत गर्ने
विधि
– यो व्रत राख्ने
महिलाहरुले बिहानै उठेर जलाशय (खोला, खोल्सा, पोखरी, कुवा, धारो आदि)मा गएर
नुहाउछन। नुहाउनुभन्दा अघि नुहाउने संकल्प गरिन्छ। यसरी नुहाउन जांदा सामुहिक
रुपमा नुहाउने पनि चलन छ। नुहाउन जाँदा अपामार्गको 365 वटा दतिउनले दाँत माझिन्छ र
त्यसपछि 365 वटै दतिउनका पत्ताले नुहाउन आरंभ गर्नु पर्छ। नुहाउनुभन्दा अघि संकल्प
गरिन्छ जसमा यस मन्त्रको प्रयोग हुन्छ –

अहं ज्ञानतोsज्ञानतो
वा रजस्वलावस्यायां कृत संपर्क जनित दोष परिहारार्थ
मृषिपञ्चमी
व्रततं करिष्ये

          यो
क्रम सकेपछि पालै पालो क्रमैसँग विभिन्न प्रकारको माटो जस्तै वर-पीपलका जराको
माटो, तुलसीका मठको माटो, रातो माटो, गोबर वा हल्दी लगाएर शरीर नुहाइन्छ। शरीर
नुहाइसकेपछि चाल्नो सिरमा राखी 365 धारा आउने गरि माथिबाट पानी चुहाउनु पर्छ। त्यस
चाल्नोमा सुन राखेको हुनु पर्छ। यो प्रक्रिया समाप्त भएपछि सफा सुग्घर वस्त्र
पहिरी, सफा वर्तनमा पवित्र जल भरेर घर फर्किनु पर्छ। नुहाएर फर्केर आउँदा ल्याउनु
पर्ने पूजा गर्ने पानी शीतको थोपाले भर्नु पर्छ भनिन्छ।

पूजा विधि – नुहाएर घरमा या मन्दिरमा गएर पुरोहितको
उपस्थितिमा पूजा गरिन्छ। ऋषि पञ्चमीका दिन सप्तर्षिको पूजा गरिन्छ। सप्तर्षि भनेका
कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ हुन। कुशका ऋषिहरुको
निर्माण गरेर पूजा गरिन्छ।

कश्यपो त्रिर्भरद्वाजो विश्वामित्रो
थ गौतम।

जमदग्निर्वशिष्ठश्च सप्तैते ऋषय
स्मृता।।

      व्रतराज (पृ-200)

अरुन्धतिको
पूजाका लागि मन्त्र यसरी दिइएको छ –

अत्रेर्यथानसूया स्याद
वसिष्ठस्यात्यरुन्धति।

कौशिकस्य यथा सती तथा त्वमपि
भर्तरि।।

पूजाकै
एउटा अंश स्वरुप 365 पल्ट पूजा स्थलको वरिपरि भजन गाउँदै पाइला न उचाली
सप्तऋषिहरुको प्रदक्षिणा गरिन्छ। यसरी प्रदक्षिणा गर्दा गीत पनि गाउने चलन छ –

फुकाकेश जुम्लाहात ठूलो
हाम्रो वरत

आजका र दिनभरि ठूलो हाम्रो
वरत

देउन बाबा,
देउन बाबा
,
वरतको दीयो है

वरतको दीयो विनु व्रत खण्डित
भयो है

वरतको दीयो चेली सातै भाईको
साजो है

लैजाउ चेली,
लैजाउ चेली सुवर्णको दीयो है

सुवर्णको दीयो बाबा,
हाम्रै गिर्हे होला है।

      नेपाली
लोकसाहित्यको विवेचना – हंसपुरे सुवेदी र अरुहरु, पृ -129.

पूजा
सकेपछि पूजा स्थलमा राखेको मूल घडाको पानीले नुहाई नारीहरु आफु पवित्र भएको महसुस
गर्दछन्। यसपछि पूजाको रहल फूलपाती आदिको विसर्जन कुनै नदीमा गएर गरेपछि व्रतको
समापन गरिन्छ।

घर वा
मन्दिरमा पृथ्वी वा भूईंमा लिपेर शुद्ध पारी त्यहाँ सप्तर्षिको स्थापना गरिन्छ।
ब्राह्मणद्वारा सप्तर्षिको पूजा विधि अनुसार कर्ता अर्थात नुहाएर पवित्र भएका
स्त्रीहरुले पुष्प, धूप, दीप, नैवेद्य आदिले सप्तर्षिको पूजा गर्दछन्। यसपछि यस
व्रतको कथा पुरोहितले सुनाउँछन। पूजाको अन्तमा सात ब्राह्मणहरुलाई भोजन र दक्षिणा
दिएर पूजा विसर्जन गर्दछन्।

प्रसाद वा
आहार
– यसपछि सबैलाई
फूलपाती र प्रसाद वितरण गरिन्छ। व्रत राख्ने महिलाले ऋषि पञ्चमीका दिन व्रत बसेर
पूजा सकिएपछि फलाहार गर्दछन्। फलमा पनि जङ्गलमा आफैं फलेका फल र कन्दमूलको सेवन
गर्नू राम्रो मानिन्छ। यस दिन हलाले जोतेर उब्जाइएको अन्न खान हुँदैन भनिन्छ।

साँझमा
कीर्तन, भजन गरिन्छ। नेपाली समाजमा यो पर्वको रुपमा हर्षोल्लासका साथ मनाइन्छ। कतै
कतै राती नाचगान पनि गरेको पाइन्छ।

व्रतकथा व्रत बस्ने महिला साथै घरका अन्य सदस्य र छर
छिमेकीहरु समेत भएर ऋषि पञ्चमीको व्रतकथा सुन्दछन्। यस व्रतलाई लिएर दुइवटा कथा
प्रचलित छन्।

प्रथम कथा विदर्भ देशमा एकजना उत्तक नाउँ गरेका ब्राह्मण
थिए। उनकी पतिव्रता स्त्रीबाट दुइ सन्तान – एउटा छोरो र एउटी छोरी जन्मिए। छोराको
नाउँ सुविभूषण थियो र उ धेरै बुद्धिमानी थियो। राजाले आफ्नी छोरीको विवाह एकजना
विद्वान ब्राह्मणसँग गरिदिए तर विधिको विधान कसले जान्न सक्छ र। उनी केही वर्षमै
विधवा भइन र आफ्ना बाबुआमाका घरमा आएर बस्न थालिन। ब्राह्मणले आफ्नी छोरीलाई सँधै
दुखमा देखे। उनले घर व्यवहार सबै छोरा बुहारीलाई सुम्पिएर घर छाडेर गंगा किनारमा
गई कुटी बनाएर बस्न थाले। ब्राह्मणकन्या आफ्ना आमा बाबुको सेवा गरेर बस्थिन। एक
दिन काम गर्दा धेरै थकान लागेर उनी एउटा ढुंगामा आराम गर्न थालिन। आधी रातमा उनले
आफ्ना शरीरमा किरा उब्जेको चाल पाइन र गएर आमालाई भनिन्। उनले छोरीलाई उत्तक
ऋषिकहाँ लिएर गइन र सबै वृत्तान्त भनिन्। उत्तक ऋषिले पत्नीका सबै कुरा सुनेर आँखा
बन्द गरेर केही बेर ध्यान लगाए। उनले आँखा खोलेर भने कि हाम्री छोरी पूर्वजन्ममा
ब्राह्मणी थिइन। एकपल्ट यिनले रजस्वला भएको समयमा घरका भाँडा कुँडा इत्यादि छोएकी
थिइन। यही पापको कारणले यिनलाई यो घाउ भएर किरा परेका हुन। रजस्वला भए पश्चात अन्य
स्त्रीहरुले ऋषि पञ्चमीको व्रत लिएको देखेर पनि यसमा रुचि लिइनन। तिनीहरुले व्रत
गरेको देखेकाले यस जन्ममा ब्राह्मण परिवारमा जन्म भएको हो। ब्राह्मणीले ऋषिलाई यस
व्रतको विधिको बारेमा जानकारी दिन भनिन र छोरीलाई व्रत गराएर यस पापबाट मुक्त
पारिन।

दोस्रो कथा – सत्ययुगमा विदर्भ नगरीमा
श्येनजित नाउँ गरेका राजा थिए। उनी पौरखी हुनका साथै धेरै विवेकी पनि थिए। उनका
राज्यमा सुमित्र नाउँ गरेका एकजना किसान थिए। उनकी पत्नीको नाउँ जयश्री थियो जो
अत्यन्तै पतिव्रता थिइन। खेतीको समयमा एक दिन वर्षा ऋतुमा उनी रजस्वला भइन तर उनी
काममा लागि रहिन र घरको सबै काम गरिरहिन। केही वर्षपछि पति पत्नी वृद्ध भएर मरे।
यसै कारण जयश्री अर्को जन्ममा कुकुर्नी भएर जन्मिन। सुमित्र पूर्वजन्ममा रजस्वला
भएकी स्त्रीसँग सम्पर्क गर्नाले गोरु भएर जन्मिए। उनीहरु आफ्नै छोरा सुचित्रको
घरमा हुर्किए। उनीहरु दुबैलाई आफ्नो पूर्वजन्मको सबै विवरण याद थियो। सुचित्र
ब्राह्मण धार्मिक प्रवृत्तिका थिए। उनी अतिथिलाई धेरै सत्कार गर्दथे। आफ्ना बाबुका
श्राद्धका दिन उनले ब्राह्मणहरुलाई भोजन गराउन विभिन्न किसिमका पकवानहरु तैयार
गराए। सुचित्रकी पत्नी जब बाहिर निस्केकी थिइन, त्यसैबेला एउटा साप आएर खीरको भाँडामा
मुख लगायो। यो सबै कुकुर्नी रुपी सुचित्रकी आमाले देखिन। उनले सोचिन कि यो खीर
खाएमा ब्राह्मणहरुको मृत्यु हुनेछ किनभने यसमा सर्पको विष परेको छ। यसै कारण
बुहारी आएपछि उसले देख्नेगरि खीरमा मुख हाली। यो देखेर बुहारीलाई रीस उठ्यो र उनले
बल्दै गरेको अगुल्टाले कुकुरलाई हानिन। अगुल्टाको चोट परेर कुकुर्नी कराउँदै भागी।
      

        त्यस
दिन कुकुर्नीले भोकै बस्नु पऱ्यो। बुहारीले रीसले उब्रेको भात पनि उसलाई दिइनन्।
उनले उब्रेको भात टाढा लगेर फ्याँकिदिइन। राती सारै भोक लाग्यो र कुकुर्नीले
पूर्वजन्मका आफ्ना पति अर्थात गोरुको छेउमा गएर दिउँसो भएको घटनाको वृत्तान्त
सुनाइन्। गोरुले भन्यो – तिम्रो पापले मलाई पनि यस्तो योनीमा ल्याएर डुबायो। आज
मलाई छोराले जोतेर धेरै कुट्यो र खान पनि दिएन। मलाई यसरी कष्ट दिएर श्राद्धलाई
पनि निष्फल गरिदियो। यसरी दुबैले बात गरेको सुचित्रले सुनिरहेका थिए र उसलाई धेरै
दुख लाग्यो। उसले उनीहरु दुबैलाई पेटभरि खुवायो। उसलाई आफ्ना आमा बाबुले यस्तो नीच
योनी पाएकोले दुखी भएर उ ऋषिहरुसँग गएर मेरा आमा बाबु यस्ता किन भए र यस योनीबाट
कसरी छुटकारा हुन्छ भनेर सोधे। तिमीले पत्नी सहित ऋषि पञ्चमीको व्रत गर्नु र
फलचाहिं आमा बाबुलाई दिनु। भाद्र शुक्ल पञ्चमीका दिन नदी या कुनै जलाशयमा गएर
नुहाउनु अनि अरुन्धति सहित सप्तर्षिको पूजा गर्नु। सुचित्र घरमा आएर पत्नीलाई सबै
कुरा भने। उनीहरुले मिलेर त्यो व्रत गरे। यस व्रतको प्रभावले नीच योनिमा परेका
उनका दुबै आमा बाबुले छुटकारा पाए।

      भविष्योत्तर पुराण – हेमाद्रि
काण्ड.

रजस्वला
किन दोषी मान्ने भन्ने शास्त्रको आधार

 इन्द्रलाई वृत्रासुरको वध गर्नाले ब्रह्महत्याको
दोष लागेको थियो। यसको निवारणको लागि उनी ब्रहमाकहाँ गए। ब्रह्माले इन्द्रको यस
पापलाई चार भागमा बाँडेर इन्द्रलाई पापबाट छुटकारा दिलाए। ब्रह्महत्याको पाप चार
भागमा यसरी बाँडिएको थियो – पानीको फिँजमा, आगोको धुवाँमा, रुख काटदा निस्केको
चोपमा र स्त्रीको रजमा। यसै कारणले यी चारैमा ब्रह्महत्याको दोष रहन्छ भनेर मानिन्छ।
यिनीहरुको सम्पर्कमा आउँदा पनि दोष लाग्छ भनिन्छ।

     
सुक
सागर – सुब्बा होमनाथ केदारनाथ।

के नारी रज घृणित हो त ?

नारीको
रजोधर्मलाई अछूत मान्दै समाजले उसलाई दोषी मानेको पाइन्छ। कतै कतै रजस्वलाको
अवस्थामा उनिहरूलाई छुट्टै घरमा बस्न बाध्य गराएको पनि देखिन्छ। यो अवस्थामा नारी
शरीर धेरै नाजुक अवस्थाबाट गुज्रिरहेको हुन्छ। शरीर दुख्ने,टाउको घुमाउने, कमर
दुख्ने जस्ता पीड़ाहरू नारीले भोगीरहेका हुन्छन्। यसैले उनको शरीर कुनै कार्य गर्न
अक्षम हुन्छ। यो वैज्ञानिक कुरा हो। यस अवस्थामा नारी शरीरले कष्ट भोग्नुपरेमा
उनलाई विभिन्न किसिमका रोगहरू लाग्ने सम्भावना हुन्छन्। यसैले यस अवश्थामा नारीलाई
मददको आवश्यकता परेको हुन्छ। उसको यस प्राकृतिक अवस्थालाई छि छि गर्नु कुनै पनि
दृष्टिले उचित हुँदैन। यसलाई घृणित, ब्रह्महत्या मान्नु कुनै पनि दृष्टकोणले उचित
होइन।

 

नारी रज :
सृष्टिको आधार

नारी रज
समस्त मनुष्यका सृष्टिको मूलाधार हो। नारी रजस्वला हुनु नारी र समाजको इच्छा होइन,
प्रकृतिको इच्छा हो। नारीमा प्रजनन् क्षमता भर्नु नारीको आफ्नो इच्छा न भएर
ईश्वरको इच्छा हो। रजस्वला हुनु प्रजनन गर्न योग्य हुनु हो। यदि कुनै युवतीलाई
मासिक धर्म आएन  भने यो ठूलो चिंताको विषय
हुन्छ। यस दृष्टिले हेर्नु हो भने समस्त प्राणी जगतनै दोषी छ। समस्त पुरुष समाज
पनि दोषी छ। किन भने पुरुषको जन्मको बाटो पनि नारी रज नै हो। यदि नारी रज
ब्रहमहत्या हो, दोषी हो, घृणित हो भने नारी मात्रै होइन सम्पूर्ण पुरुष समाज पनि
यस दोषबाट मुक्त छैन। सन्त महात्माको शरीर पनि यस दोषबाट मुक्त छैन। यसैले नारीको रजस्वला
अवस्थालाई घृणित मान्नु सम्पूर्ण सृष्टिको प्रक्रियालाई दोषी मान्नु हो।

रजोधर्ममा
पर सर्ने वैज्ञानिक आधार

मासिक
रजस्वलाको समयमा स्त्रीहरुको शरीर अशुद्ध हुन्छ किनभने यस बेला नारी शरीरले आफ्नो
गर्भाशयको अवशिष्ट निस्कासन गर्छ। यस अवस्थामा नारी शरीर बढि नाजुक हुन्छ। काम
गर्दा उनलाई धेरै पीडा र थकान हुने गर्दछ। यो समय अरु सामान्य अवस्था जस्तो हुँदैन,
यसैले यस समयमा कामबाट पर सर्नु भनेको हो, अछूत मानेर घरबाट निस्कासन गर्नु भनेको
होइन। यस समय शरीरलाई धेरै आरामको आवश्यकता पर्दछ। शरीरलाई आराम न पुग्नाले धेरै
शारीरिक असुविधाहरु हुने गर्दछन्। यसैले यस बेला नारी स्वयंलाई सफा सुग्घर
राख्न  र परिवारका अन्य सदस्यहरुले यसमा
सहयोग दिन आवश्यक हुन्छ। यस समयमा आवश्यक हेरचाह न हुनाले विभिन्न किसिमका रोगहरु
पनि लाग्ने गर्छन्। विगतमा वैज्ञानिक महत्वको जानकारी नभएकाले विभिन्न कथादिको
माध्यमबाट यसलाई धर्मसँग जोडेर पस्किएको हो।  अवस्थामा कामकाज वा संसर्गबाट टाढा रहेर आराम
गर्ने सन्देश दिनका लागि कतिपय तथ्यहरू गढिएका हुन् तर कालान्तरमा यीनै तथ्यहरू रुढी
भएर नारीलाई नर्कको द्वार मानिन थाल्यो।

निष्कर्ष

पुरानो
समयमा मानिस
पाप शब्दबाट धेरै डराउने गर्दथ्यो र
नारी शरीरको जगेडा गर्न यस्ता कथाहरु गढिएका हुन कि भन्न सकिन्छ। आज पनि यस
अवस्थामा सावधान हुन जरूरी छ। व्यक्तिगत स्तरमा सरसफाई, उचित आहार र उचित आराम
गर्न जरूरी छ। हुन त हामि पुराना कुरा न मान्ने र आफूलाई बढ़ी वैज्ञानिक देखाउने
होडबाजी गर्दछौं। यस होड़बाजीमा हामिले आफ्नो शरीरको नाजुक अवस्थालाई नज़रअन्दाज
गरिरहेका त छैनौं, भन्ने कुराको चेतना अवस्य राख्नु पर्दछ। कतिपय नारीहरू घर बाहिर
गएर काम गर्ने बाध्यतामा पनि परेका हुन्छौं। तर पनि यस अवस्थामा आप्नु ख्याल भने
अवस्य राख्नु पर्दछ। नारीको स्वस्थ शरीर नै स्वस्थ सृष्टिको आधार हो भन्ने कुरा
समाजले कहिल्यै पनि बिर्सनु हुँदैन। यी तथ्यहरूलाई नियाल्दा नारी रज सृष्टिको आधार
हो र यो घृणा गर्ने नभएर जगेड़ा गर्ने अवस्था हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ।

………………………………………………………………….

सन्दर्भ –

1.   ब्रह्माण्ड पुराण, व्रत भाग

2.   व्रतराज

3.   ऋषिपञ्चमी व्रतकथा

4.   नेपाली लोकसाहित्यको विवेचना –
हंसपुरे सुवेदी र अरुहरु, त्रिभुवन विश्वविद्यालय

5.   सुक सागर – सुब्बा होमनाथ केदारनाथ।

6.    

Author

  • डॉ.गोमा देवी शर्मा (अधिकारी)

    डॉ.गोमा देवी शर्मा (अधिकारी) गुवाहाटी, असम की निवासी हैं और पेशे से एक शिक्षिका हैं। इन्होंने हिंदी विषय में स्नातक, स्नात्कोत्तर, बीएड एवं पीएचडी मणिपुर विश्वविद्यालय से और नेपाली में गुवाहाटी विश्वविद्यालय के आइडोल केंद्र से की है। ये मूल रूप से नेपाली, हिंदी और अंग्रेजी में लिखती हैं। ये पूर्वोत्तर भारत की एक हिंदी सेवी हैं। ये भारतीय नेपाली साहित्य की अध्येता हैं। इनकी हिंदी तथा नेपाली में कई पुस्तकें प्रकाशित हैं

Leave a Comment

error: Content is protected !!