भूमिका
मानवजातिका विकासको
इतिहास उसको यायावरी प्रवृत्तिसँग जोड़िएको छ। ऊभित्रको उत्सुकता र बढी जिज्ञासाले
नै यात्रा साहित्यलाई जन्म दियो भन्न सकिन्छ। विश्वमा पाइने भौगोलिक बनोट, संस्कृति, प्राकृतिक छटा, खान-पान, रहन-सहन आदिमा
पाइने विविधताले मानिसको मनलाई सँधै प्रभावित पारेको देखिन्छ। नयाँ कुराको
निरीक्षणको आधारमा ज्ञानको वृद्धि गर्नका लागि सभ्यताको प्रारम्भ देखि नै मानिस
लालायित हुँदै आएको छ। 1 यसै लालसाले मानवको जिज्ञासाका तृप्तिको खुराक प्राप्त गर्दछ। भ्रमण नयाँ
कुराको अनुसन्धान गर्ने एउटा ठुलो साधन हो।
संसारमा ठुला ठुला
यायावरहरूले दुनियाँलाई नयाँ बाटो देखाएको उदाहरण हामीमाझ छ। फाह्यान, ह्वेन्त्साङ, इत्सिंग, अलबरूनी, मार्कोपोलो, भास्को डि गामा, कोलम्बस जस्ता
यात्रुले संसारका विभिन्न देशहरूको सामाजिक, सांस्कृतिक, भौगोलिक, राजनैतिक, कुटनैतिक आदि
तथ्यलाई दुनिया सामु राखेको कुरालाई नकार्न सकिँदैन।
देश-विदेशको भ्रमण
गरेर प्राप्त भएको साक्षात अनुभव सबैभन्दा प्रभावशाली अनुभव हो। हाम्रो समाजमा अघि
धार्मिक र धन कमाउन जाने उद्देश्यले बढी़ देशाटन गर्ने चलन थियो। यात्रा गरेर
आउनेहरूले नयाँ ठाउँको अनुभव अरूलाई सुनाउने गर्दथे र यो धेरै चाखलाग्दो हुने
गर्दथ्यो। यही मौखिक प्रवृत्ति जब लिपिबद्ध भयो, यात्रा साहित्य वा नियात्राको जन्म भयो।
नियात्रा : सामान्य परिचय
देशाटन, भ्रमण, पर्यटन, विचरण, घुमाई, परिभ्रमण आदि थुप्रै
नाम भए तापनि यात्रा सर्वप्रचलित नाम हो। यात्राका धेरै रूपहरू हुन्छन् –
तीर्थयात्रा, व्यापारिक यात्रा, कुटनैतिक यात्रा, शैक्षिक यात्रा, साहसिक यात्रा, साहित्यिक यात्रा
आदि। यसरी नै यात्रा पनि पर्यटनीय र प्रयोजनीय गरी दुई प्रकारका हुन्छन्। यात्रा
गर्दा टिपिएको अनुभव र तथ्यमा भाव र विचारको रङ भरेर पस्कने विधालाई नियात्रा भनिन्छ।
नेपाली साझा शब्दकोशमा यसका दुइवटा अर्थ प्रदान गरिएको छ – 1. यात्रा निबन्धको
औपन्यासिक वा उपाख्यानात्मक रूप। 2. यात्रावर्णन बारे कथात्मक शैलीमा लेखिएको निबन्ध। 2
नेपालीमा नियात्रा
विधाको नामकरण गर्ने श्रेय बालकृष्ण पोखरेललाई जान्छ भन्ने युवा समालोचक नवीन
पौडेलको मत छ। उनले वि.स. 2025 मा प्रकाशित बेलायततिर
बरालिँदा पुस्तकको भूमिकामा सर्वप्रथम यस शब्दको प्रयोग गरेका थिए। 3 वि.सं. 2040 मा बृहत् नेपाली
शब्दकोशमा यस शब्दले प्रविष्टि पायो।
नियात्राको विधा
खुट्याउने विषयमा धेरै मतहरू देखा पर्दछन् तर यो विवादको विषय नभएर आफैमा एउटा
छुट्टै अस्तित्व भएको स्वतन्त्र र गतिशील विधा हो। नियात्रामा निजात्मकताको प्रधानता
हुन्छ। सूचनात्मकता, चिन्तनशीलता, कौलूहलता, रोचकता, मनोहारिता आदि यसका
विशेषताहरू हुन्।
नेपाली साहित्यमा निया़त्रा
नेपालीमा
नियात्राको शुरुवात आजभन्दा लगभग 500 वर्षअघि लेखिएको राजा गगनीराजको यात्राबाट भएको मानिन्छ। सन् 1492 मा लेखिएको राजा
गगनीराजको यात्रामा नियात्राको पहिलो छाप पाइए तापनि सन् 1852 को बेनामी जंगबहादुरको
बेलायत यात्रा (ने.सा.को इतिहास, दयाराम श्रेष्ठ,
मोहनराज शर्मा, पृ.182) लाई नेपाली
नियात्रा साहित्यको कोषेढुङ्गा मानिन्छ। चिरन्जिवी पौड्यालको आफ्नु कथा
(सन् 1897), डिल्लीराम शमशेरको श्री
यूरोप यात्रा (सन् 1909),
शेरमान राणाको मेरो
लण्डन राजनैतिक यात्रा (सन् 1912) यस दिशाका प्रारम्भिक नेपाली महत्पूर्ण
नियात्राहरू हुन्। चिरञ्जीवि पौड्याल, शेरसिंह राना, रणसूर लिम्बू, लैनसिंह बाङ्देल, तारानाथ शर्मा, केदारमणि आ. दी.
प्रकाश ए. राज, घनश्याम
राजकर्णिकार, सलोन कार्थक, जय छाङ्छा, गीता उपाध्याय आदि
नेपाली नियात्राका विशिष्ट साधक हुन्।
भारतमा नेपाली नियात्रा साहित्य
भारतमा नेपाली
साहित्यमा नियात्राको थालनी गर्ने श्रेय भाक्सूका शेरसिंह राना मगरलाई जान्छ। सन् 1913 मा उनले लेखेको मेरो
लन्दन राजतिलक यात्रा यस भूमिबाट पहिलो प्रकाशित कृति हो भन्ने विद्वानहरूको
भनाई छ। 1/4 गोर्खा राइफल्सका
सैनिकको रूपमा उनी सन् 1911 मा जर्ज पञ्चमको
राजतिलक समारोहमा ब्रिटिश सरकारको निम्तोमा लण्डन पुगेका थिए। यस कृतिमा उनले
त्यहाँको प्रकृति, हावापानी, रहन-सहन, उन्नति साथै उक्त
समारोहको रोचक वर्णन गरेका छन्। यसैको हाराहारीमा बनारसबाट प्रकाशित हुने चिरञ्जिवि
शर्माको काशीको संक्षेप यात्रा यस दिशाको अर्को महत्वपूर्ण कृति हो र यसमा
धर्म एवं ज्ञानको सर्वप्राचीन नगरी काशीको सुन्दर वर्णन गरिएको छ। यसपछि पादरी
गंगाप्रसाद प्रधानद्वारा सम्पादित गोर्खे खबर कागत सन् 1930 को जनवरी, फरवरी र मार्च महिनाको
तीन अङ्कमा ।ARP को नाममा एउटा यात्रापरक लेख मेरो स्कटलैण्डको
बखान धारावाहिक रूपमा प्रकाशित भएको पाइन्छ। पादरी गङ्गाप्रसाद प्रधानबारे शोध
अध्ययन गर्ने सलोन कार्थक अनुसार उक्त कृतिको रचनाकार गङ्गाप्रसाद प्रधानकी
सुपुत्री एग्नेस राजमति प्रधान हुन् भन्ने मत छ। यस रचनामा लेखिकाले दार्जिलिङदेखि
कोलकाता, बम्बई र जोर्डन
हुँदै, स्वेस केनल पार गरी
स्कटलैण्ड पुगेको र त्यहाँका दृश्यावलीहरूको वर्णन गरेको पाइन्छ। यस रचनाका आधारमा
राजमति प्रधान प्रथम भारतीय नेपाली नारी नियात्राकारको रूपमा देखा पर्दछिन्। फूटकर
रूपमा लेखिएका नियात्राहरू धेरै छन् तर पुस्तकाकार रूपमा देखा परेका यस विधाका
रचनाहरू थोरै फेला पर्दछन्। अहिलेसम्म भारतबाट प्रकाशित नेपाली नियात्राहरूलाई
केलाउँदा समग्र भारतबाट नेपाली नियात्रा शुरू गर्ने श्रेय शेरसिंह रानालाई
जान्छ। दार्जिलिङको सन्दर्भमा राजमति प्रधान र पूर्वोत्तर भारतबाट सरस्वती सोनार र
सिक्किम राज्यमा शान्ति छेत्रीले यस विधालाई अघि बढाएको देखिन्छ। आजसम्म
भारतेली नेपाली साहित्यको परिप्रेक्ष्यमा शोधद्वारा प्राप्त भएका नियात्राहरूको
सूची यस प्रकार छ –
1. शेरसिंह राना – मेरो
लन्दन यात्रा (1913)
2. लैनसिंह बाङ्देल –
यूरोपको चिट्ठी (1956),
स्पेनको
सम्झना (1962), रोमको एउटा फुल र
प्यारिसको काँड़ा (1999)
3. सरस्वति सोनार – रोमको
यात्रा (1969)
4. पारसमणि प्रधान – मेरो
काठमाडौं यात्रा (1983)
5. सलोन कार्थक – समुद्रवारि-समुद्रपारि
(सम्पादित, 1976), विदेशतिर रिङ्दै
जाँदा (1996), पदयात्रा गाउँको
फन्को विदेशको (2000), विश्व एउटा पल्लो
गाउँ (2013)
6. दिलबहादुर नेवार – यात्रा संकलन, महाराष्ट्र (1977)
7. कुमार घिसिङ – दूनघाटी, नालापानी (1982)
8. डा. शान्ति छेत्री
– अरबसागरको सूर्यास्त (1986), यूरोप भ्रमणः केही संस्मरण (1996), नियात्रा आस्थाको (2017)
9. प्रद्युम्न
श्रेष्ठ – मेरा केही यात्रा संस्मरणहरू (1996)
10. सानुभाई शर्मा – यात्रा
संस्मरण (1998)
11. नन्दलाल रसाइली – बर्मादेखि
भारत (1999)
12. के.पी मल्ल – गाउँघर
देश-परदेश, यात्रा-घर आँगनदेखि
समुद्रपारीसम्म (2013)
13. सानु लामा – आँगन परतिर (2001)
14. चूडामणि उपाध्याय
भट्टराई – केलिफोर्नियाको झ्यालबाट (2002)
15. डा. गीता उपाध्याय
– मन्दाकिनी र अलकनन्दाको तीरैतीर बद्री केदारसम्म (2003)
16. सूर्य लोवा – नाथुलाको
सिँढी चढ्दा (2014)
17. प्रजापति शास्त्री
– तीर्थदर्शन
(2004)
18. जयनारायण लुँइटेल – दुबई हुँदै
अमेरिकासम्म (2004) र छाँगादेखि
गुफासँग (2011)
29. लावण्यादेवी र
जगन्नाथ उपाध्याय – बृटेनमा केही दिन (2010)
20. लावण्यादेवी – स्वदेश
परदेश (2012)
21. कविता सुब्बा –
अध्ययन भ्रमण एवं संस्मरण (2006), 42 दिन (2013)
22. बिन्द्या सुब्बा – अरब
सागरको किनारमा (2008)
23. डि.पी. जोशी – मेरो
यात्रा स्वर्ण मन्दिर परिसरमा (2009)
24. चन्द्रकुमार राई – भ्रमण र जीवन
यात्रा (2009)
25. शङ्कर प्रधान –
केही खोजीमा (2011)
26. के.बी छेत्री –
संस्मरण तीर्थयात्राको (2011)
27. एम.बी प्रधान – मनका
लहर र रहरहरू (2011)
28. एम. पथिक – पथिका
पाइलाहरू (2012)
29. सूर्यमणि शर्मा – सुकुनादेखि
ज्यामिरेसम्म (2013)
30. जीवन राई – ज्योतिको
आँखामा झल्को, मनमा सम्झना (2013), देशाटन (2017)
31. चूडामणि दाहाल – यू. के भ्रमणः एक
संस्मरण (2017)
32. टीका ढुङ्गेल –
यात्रा संस्मरण (2017)
33. लक्ष्मण नेपाल – अनुभव
: यात्रा अनि जीवनको (2017)
34. कमल सापकोटा – अस्ट्रेलिया
यात्रा (2018)
35. पवन चामलिङ – यूरोप
भ्रमण, केही संस्मरण
36. दुर्गाप्रसाद
श्रेष्ठ – देश देशान्तर यात्रा वृतान्त (हिन्दी)
37. डा. देवेन सापकोटा
– यता हुँदा उताको झझल्को (2019)
माथि उल्लेख गरिए
बाहेक विभिन्न पत्र-पत्रिकामा फूटकर रूपमा केही नियात्राहरू प्रकाशित भएको पाइन्छ।
भारती, दियालो, स्पन्दन, पूर्व किरण, हाम्रो ध्वनि, आदि पत्रिकाहरूमा लेख
रूपमा थुप्रै नियात्राहरू प्रकाशित भएको देखिन्छ। यस्ता लेखपरक नियात्राहरूमा
मनकुमारी थापाको मेरो स्क्टल्याण्ड यात्रा (सन् 1953), प्यारिसको झलक (1954), राधिका रायाको मेरो
पहिलो समुद्र यात्रा (1955),
मधुमालती प्रधानको मेरो
बनारस यात्रा (1955),
लक्खीदेवी सुन्दासको
मेरो काबुल यात्रा, लक्ष्मण नेपालको भुवनेश्वरको
यात्रा (2001), सिक्किमदेखि
कन्याकुमारीसम्म (2002), कलकत्ताबाट
बहरामपुर (2003), डा.शान्ति थापाको ब्रह्मपुत्रदेखि
गोदावरीसम्म (2008), रूद्रराज मास्केको मेरो
पश्चिमाञ्चल यात्रा र अन्य, महानन्द पौड्यालको मेरो ठिमिले असम यात्रा र डि.पी. जोशीको मेरो
पहिलो काठमाण्डौं यात्रा आदि पत्रपत्रिकामा प्रकाशित केही फुटकर नियात्राहरू
हुन्।
प्रारम्भदेखि लिएर
वर्तमानसम्मको यात्रामा विश्वसाहित्यले असंख्य मोड़हरू पार गरेको देखिन्छ। यसले
विभिन्न वाद, दर्शन, मत, प्रवृत्तिहरूलाई
आत्मसात गर्दै, एकअर्कालाई
प्रभावित पार्दै अघि बढेको देखिन्छ। वर्तमान साहित्यमा उत्तरआधुनिक चेतना, समकालीनता, भूमण्डलीकरण जस्ता
विषयहरूमा गहन चर्चा परिचर्चा भएको पाइन्छ।
समकालीन र समकालीनता के हो ?
समकालीन/ समसामयिक शब्द Contemporary को नेपाली
रूपान्तर हो। समकालीन र समसामयिक शब्द पर्यायवाचीका रूपमा देखा पर्छन्। समकालीन/ समसामयिकको
तात्पर्य समान, उही वा एकै समय, बेला वा बखतको
भन्ने हुन्छ। सन्दर्भ र प्रसङ्गअनुसार समसामयिक शब्दको प्रयोग अहिलेको, उहिलेको र एकै
समयको भन्ने अर्थमा गरिए तापनि खासमा यस शब्दले अहिलेको समय वा वर्तमानलाई
बुझाउँछ। साहित्यिक इतिहास र समालोचनाका क्षेत्रमा अहिलेको रचनालाई समकालीन/
समसामयिक रचना भन्ने गरिएको भए तापनि यसले वर्तमानकालीन कुनै विषयवस्तु, व्यक्ति, प्रवृत्ति, समयावधि आदिलाई
समेत बुझाउँछ। समसामयिकले चालु वर्तमानकालीन अर्थात् अहिलेका प्रवृत्तिहरू
अभिव्यञ्जित रचना भन्नेसमेत बुझाउने हुँदा समसामयिक भनेको विशुद्ध समय मात्र नभएर
त्यस अवधिमा देखापर्ने प्रवृत्ति पनि भएकाले त्यो प्रवृत्ति कायम रहुन्जेलसम्म यस
शब्दको प्रयोग गर्न पनि सकिन्छ। यसर्थ समसामयिकताले वर्तमान समय र प्रवृत्ति
दुवैलाई द्योतन गर्छ। कतिपयले समकालीनता र आधुनिकतालाई एउटै अर्थमा प्रयोग गर्ने
गरेको पनि पाइन्छ, तर यी दुई शब्द समानार्थी नभएर भिन्नार्थबोधक शब्द हुन्।
आधुनिकता भनेको समकालीनता होइन तर समकालीनताभित्र आधुनिकता पनि आउन सक्छ।
प्रवृत्तिगत आधारमा समकालीनता परिवर्तनशील, अस्थिर र तत्कालीन हुनाका साथै निश्चित र सीमित समयावधिमा आबद्ध हुन्छ
भने आधुनिकता चाहिँ अपरिवर्तनशील, स्थिर र असीमित समयावधिसम्म विस्तारित हुन सक्छ।
समकालीनता जीवनलाई
प्रभाव गर्ने समयको सर्वाधिक महत्त्वपूर्ण क्षण हो। साहित्यका सन्दर्भमा परिवर्तित
समयअनुसार आज वा अहिलेको वर्तमान वा सम्प्रतिसँग सम्बद्ध अभिलक्षण र विशेषता हुनु
नै समकालीनता हो।
पश्चिममा समकालीन
साहित्य भन्नाले दोस्रो विश्वयुद्धपछिको साहित्य भन्ने बुझाउँछ। युद्धको त्रासदी, बमबारी, विनाशलीला, भ्रष्टाचार, जीवनको क्षणभङ्गुरता
जस्ता प्रवृत्तियुक्त साहित्यलाई पश्चिममा कन्टेम्पोररी साहित्य भनियो। यसै शब्दको
अनुवाद समकालीनता पूर्वी साहित्यमा धेरै समयपछि मात्रै देखा परेको देखिन्छ।
समकालीनताको विषयमा विद्वानहरूबाट कुनै पनि निश्चित परिभाषा प्राप्त भएको
देखिँदैन। यस विषयमा पनि विभिन्न मतहरू देखा परेका छन्। पूर्वीय साहित्यमा कतै 70 को दशकबाट यता
लेखिएको र कतै सन् 80 पछि लेखिएको
साहित्यलाई समकालीन नेपाली साहित्य भनिएको पाइन्छ।
समकालीनताको
परिभाषालाई लिएर विद्वानहरूमा मतभेद रहे तापनि सिक्किम विश्वविद्यालय, नेपाली विभागकी
प्राध्यापिका डा. कविता लामा अनुसार नेपाली साहित्यमा यस प्रभावको दर्शन सन् सत्तर
पछिको साहित्यमा पाइन्छ। समकालीन साहित्यका प्रत्येक विधामा देखा पर्ने
प्रवृत्तिहरूमा युगीन विसंगति, विकृति, अभाव, पीड़ा, असन्तुष्टि चिन्ता, कुण्ठा, निराशा, अमानवीयता, सम्वेदनहीनता, हत्या, हिंसा, सन्त्रास, युद्धको विभिषिका, त्रासद परिस्थितिको
चित्रण, राजनैतिक
विसंगतिहरू, घुसखोरी, घटदो मानवीय मूल्य, दुराचारको खुलासा, मानवीय अस्तित्वको
खोजी, अन्धविश्वास, पाखण्ड, कुरीति प्रति
विद्रोह, विघटित मानवीय
मूल्यको चित्रण, स्थानीय, राष्ट्रिय साथै
अन्तराष्ट्रिय समस्याहरूको चित्रण, नारी विमर्श, युगीन यथार्थको
प्रकटीकरण, विचलनयुक्त भाषा
शैलीय विन्यास, नवीन शिल्पविधान, विनिर्माणवादी
चिन्तन, आतङ्कवाद, विश्वग्रामको
कल्पना, यान्त्रिकता, प्राविधिक विकास, लोकोन्मुखि
प्रवृत्ति, स्थानीयता, आञ्चलिकता आदि
देख्न पाइन्छ।
भारतीय नेपाली
नियात्रामा साहित्यले स्थापित गरेका समकालीन प्रवृत्तिहरू केही मात्रामा देखा
पर्दछन्। यहाँ सन् 70 पछि लेखिएका
नियात्राहरूको प्रवृत्तिगत विश्लेषण गरिने छ –
मूल रूपमा हेर्ने
हो भने भारतीय नेपाली नियात्राहरूमा मूल रूपमा दुईवटा प्रवृत्तिहरू देखा पर्दछन् –
1. अन्तराष्ट्रिय
भावभूमिमा आधारित नियात्रा र स्थानीय वा राष्ट्रिय भावभूमिमा आधारित नियात्रा
1. अन्तराष्ट्रिय भावभूमिमा आधारित नियात्राहरू – अन्तराष्ट्रिय
परिस्थितिहरूको चित्रण गर्नु समकालीन भारतीय नेपाली नियात्राको पहिलो प्रवृत्ति
हो। स्थानीय र राष्ट्रिय परिसीमा नाघेर अन्तराष्ट्रिय परिवेशमा हेलिनु समकालीन
प्रवृत्तिभित्र पर्दछ। यो प्रवृत्ति भारतीय नेपाली नियात्रा साहित्यमा प्रथम
रचनाकार शेरसिंह रानाको रचनाबाटै शुरू भएको देखिन्छ। उनको कृति मेरो लन्डन
राजतिलक यात्रामा लेखकले लन्डनको वृतान्त वर्णन गरेका छन्। लैनसिंह प्यारिसको
एउटा फुल र रोमको एउटा काँड़ा, सलोन कार्थकका
विदेशतिर रिङ्दै जाँदा, पदयात्रा गाउँको
फन्को विदेशको र विश्व एउटा पल्लो गाउँ, एम.बी. प्रधानको मनका लहर र रहरहरू, जयनारायण लुइँटेलको दुबई हुँदै अमेरिकासम्म, छाँगादेखि गुफासम्म, के.पी मल्लका
गाउँ-घर देश परदेश र यात्रा-घर आँगनदेखि परदेशसम्म, शान्ति छेत्रीको यूरोप भ्रमण केही संस्मरण, चूडामणिको दाहाल – यू.
के भ्रमणः एक संस्मरण आदि नियात्राहरूमा अन्तराष्ट्रिय परिस्थितिहरूको सुन्दर
चित्रण पाइन्छ।
2. स्थानीय वा राष्ट्रिय भावभूमिमा आधारित नियात्रा – भारतबाट
प्रकाशित नियात्राका पुस्तकहरूमा विदेश यात्राका तुलनामा स्वदेश यात्रावृतान्त बढी
देखा पर्दछन्। दिलबहादुर नेवार लिखित दक्षिण भारत भ्रमण, यात्रा संकलन र यात्रा संस्मरण, कुमार घिसिङ्को
दूनघाटी नालापानीमा, एम. पथिकको पथिकका
पाइलाहरू (2013), चन्द्रकुमार राईको
भ्रमण र जीवनयात्रा, शान्ति छेत्रीको
कन्याकुमारीसम्मः केही अनुभवहरू, गीता उपाध्यायको मन्दाकिनी र अलकनन्दाको तीरै तीर बद्री केदारसम्म (2003), सूर्य लोवाको
नाथुलाको सींढी चढ्दा आदि यस दिशाका कृतिहरू हुन्।
3. शैली विविधता – समकालीन भारतीय नेपाली नियात्रा साहित्यमा शैलीको
विविधता देख्न पाइन्छ। दिलबहादुर नेवारको यात्रा संकलन औपन्यासिक कलेवरमा देखा
पर्दछ भने लैनसिंह बाङदेलको प्यारिसको एउटा फूल रोमको एउटा काँड़ा चित्रकला
केन्द्रित नियात्रा पुस्तक हो। तीर्थयात्रापरक नियात्रा पुस्तक गीता उपाध्यायको
पाइन्छ भने काशी दर्शनमा पद्यात्मक स्वरूप देखिन्छ। दिलबहादुर नेवारको कृति
आद्योपान्त एउटै लेख रूपमा पाइन्छ भने कुमार घिसिङको कृतिमा ऐतिहासिक तथ्यहरूको
दर्शन पाइन्छ। यस कालका जम्मै नियात्राहरूमा आफ्नै किसिमका विशेषताहरू पाइन्छन्।
4. औपनिवेशिक स्थितिहरूको छाप – भारतमा नेपाली
नियात्रा साहित्यमा लैनसिँह बाङ्देलको योगदान र स्थान सर्वोपरी छ भने उनको बिँडो
थाम्ने सलोन कार्थक हुन्। सलोन कार्थकका एकाध नियात्रामा उत्तर औपनिवेशिक, सांस्कृतिक अध्ययन
गरिएको पाइन्छ।
5. विविध विशेषता – नियात्रामा
आवश्यक रूपमा हुनु पर्ने मानवीय चित्तवृत्ति, आत्मपरकता, अनुभूतिको तीब्रता, सूचनात्मकता
हार्दिकता, रागात्मकता, सौन्दर्य चेतना, आदि लक्षणलाई
परिपालन गरी लेख्ने केही सफल नियात्राकारहरूमा लैनसिंह बाङ्देल, दिलबहादुर नेवार, सलोन कार्थक, गीता उपाध्याय, जयनारायण लुइँटेल, सानु लामा, एम. बी प्रधान, एम. पथिक आदि हुन्।
6. विदेश भ्रमण गर्ने कम अवसर – भारतका नेपाली साहित्यकारहरूमध्ये
थोरैले मात्र विदेश भ्रमण गर्ने अवसर पाउनाले विदेशयात्रासम्बन्धी नियात्रा साहित्य
त्यति विकसित भएको पाइँदैन। अहिलेसम्म जे जति कृति पाइन्छन्, तिनीहरूको संख्या
थोरै नै छ।
7. लेखनमा कमी – भारत सरकारको
उपक्रममा रहेको साहित्य अकादमी नयाँ दिल्लीले साहित्यकारलाई साहित्यिक भ्रमण
अनुदान दिने प्रावधान छ। यसबाट भारतीय नेपाली साहित्यकार पनि बर्सेनी भ्रमणमा जाने
गरेका छन्, तर कुमार घिसिङको दूनघाटी-नालापानी बाहेक यो भ्रमण अनुदान
प्राप्त गर्ने अन्य कसैको नियात्रा पुस्तक देख्न पाइएको छैन।
उपसंहार
भ्रमण मानवको सबैभन्दा
ठूलो प्रत्यक्ष ज्ञानको स्रोतमध्ये एउटा हो। सभ्यताको प्रारम्भदेखि नै मानिसले
भ्रमण शुरू गरेको हो। मानिसले आफुले गरेको यात्रालाई अभिव्यक्ति दिने क्रममा नै
यात्रा-साहित्यको उदय र विकास भएको हो। नेपाली साहित्यमा यात्रा साहित्यलाई
सर्वप्रथम नियात्रा भनी नामकरण गर्ने बालकृष्ण पोखरेल हुन् र यही शब्दले मौलिक
रूपमा मौलाउने मौका पायो। गगनीराजको यात्रादेखि आरम्भ गरी जङ्गबहादुरको बेलायत
यात्रा हुँदै नेपालीमा नियात्रा विकसित भएको देखिन्छ। भारतमा सन् 1913 मा प्रकाशित
शेरसिंह रानाको मेरो लण्डन राजतिलक यात्रादेखि हालसम्म लगभग बाइस-चौबीसजना
नियात्राकारका चौंतीस-पैंतीसवटा पुस्तक र अनेक फूटकर लेखहरूले नियात्रा साहित्यलाई
विकसित तुल्याई अघि बढेका पाइन्छन्। यस हिसाबले शेरसिंह राना पहिलो नियात्राकार
हुन् भने लैनसिह बाङ्देल सबैभन्दा सफल नियात्राकार हुन्। उनीबाहेक अन्य सफल र
विशिष्ट नियात्राकारहरूमध्ये दिलबहादुर नेवार, सलोन कार्थक, सानु लामा, जयनारायण लुइँटेल, कुमार घिसिङ, सलोन कार्थक, एम. बी प्रधान, एम पथिक आदि हुन्।
कथा, कविता, उपन्यास र नाटकका
तुलनामा भारतमा नेपाली नियात्रा साहित्य भने जस्तो गरी नफस्टाएको भए तापनि अविकसित
छ भन्न मिल्दैन। प्रवृत्तिगत दृष्टिले हेर्दा भारतीय नेपाली नियात्रामा समकालीन
साहित्यिक प्रवृत्तिहरू थोरै मात्रामा भेटिन्छन्। नियात्रा लेखकहरूको सङ्ख्यामा
भने वृद्धि भएको छ, र यो एउटा आश लाग्दो विषय हो।
सहायक सन्दर्भग्रन्थ –
1. दयाराम श्रेष्ठ र
मोहनराज शर्मा, नेपाली साहित्यको
संक्षिप्त इतिहास, काठमाडौं, साझा प्रकाशन्, 2056, पाँ. सं।
2 .बृहद् नेपाली शब्दकोश, काठमाडौं, नेप्रप्र, २०६८
3. बालकृष्ण पोखरेल, यी नियात्राबारे, बेलायततिर बरालिँदा, तानासर्मा, भूमिका] पृष्ठ ख.
डा. खगेन्द्र लुइँटेल – samakalinsahitya.com
2 http://nepalacademy.org.np
3. दयाराम श्रेष्ठ र
मोहनराज शर्मा, नेपाली साहित्यको
संक्षिप्त इतिहास, काठमाडौंर, साझा प्रकाशन्, 2056, पाँ. सं।
4. रामलाल अधिकारी, नेपाली निबन्ध यात्रा, गान्तोक, मेसर्स प्रिन्टेड, 1999,दो सं.।
5. प्रमोद प्रधान, नेपाली निबन्धको
इतिहास, काठमाडौं, रत्न पुस्तक भण्डार, संवत 2066।
6. हस्त नेचाली, भारतेली नेपाली
साहित्य स्रष्टाहरू, दार्जीलिङ, साझा पु. प्रकाशन, सं. 2010।
7. जयनारायण लुइँटेल, निबन्धनिकुञ्ज, गुवाहाटी, अनुराग प्रकाशन, 2011।
8. निर्मोही व्यास, यात्रासाहित्यको
विधागत स्वरूप र विशेषता,
रत्न बृहत् नेपाली
समालोचना (सैद्धान्तिक), 2068।
9. तानासर्मा, बेलायततिर बरालिँदा, काठमाडौं, साझा प्रकाशन, सं. 2027 दो.सं.।
10 .भारतीय नेपाली
साहित्यको विश्लेषणात्मक इविहास- डा.गोमा देवी शर्मा, गोर्खा ज्योति प्रकाशन,2019
——————————————————————-