औडाहामा बाँचेको जीवन कृतिमा औडाहाको दर्शन

 

औडाहामा बाँचेको
जीवन
  कृति
मा औडाहाको दर्शन

डा.गोमा देवी शर्मा (अधिकारी)

     गुवाहाटी

दुई दर्जन पुस्तकहरू
लेखेर भारतीय नेपाली साहित्य जगतमा आफ्नो दखल कायम गर्ने
, एकाडेमी पुरस्कार विजेता असमका अथक साहित्य
महारथी छविलाल उपाध्यायको कथा सङ्कलन औडाहामा बाँचेको जीवन श्रीमती
विष्णुमायाको प्रकाशनमा सन् 2016 मा प्रकाशित भएको कृति हो। यसमा जम्मा 11
वटा मौलिक कथाहरू र एउटा रूपक समावेश भएका छन्। समय समयमा
अलइण्डिया रेडियो गुवाहाटीबाट प्रसारित साथै विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित
कथाहरू यस सङ्ग्रहमा सङ्कलित गरिएका छन्। यहाँ यी कथाहरूमाथि एउटा विहङ्गम
दृष्टिपात गर्ने प्रयास गरिएको छ।

कथा सङ्कलनको शीर्षक
औडाहामा बाँचेको जीवन यसका कथाहरूको विषयवस्तुलाई प्रतिबिम्बत गर्न सफल छ।
यी कथाहरूमा प्राचीन, मध्य र आधुनिक जीवनशैली, समस्या, कटुता र परिवेशसँग जुध्ने
पात्रहरू हाम्रा वरिपरि भिन्नाभन्नै किसिमका औडाहामा जीवन जिउने साधारण मानिस सरह
देखिन्छन्। जम्मै कथाहरू क्रमिक सामाजिक धरातल अँगाल्दै अघि बढेका छन्। कथाको प्रस्तुति
क्रमले समयलाई पछ्याएको देखिन्छ। आरम्भिक कथाहरू अलि अधिल्लो सामाजिक धरातलका, हुँदै
हुँदै अन्तिमसम्म आइपुग्दा शुद्ध वर्तमान आधुनिक धरातलमा आइपुगेर टुङ्गिएका छन्। तल
दिएका शीर्षक मार्फत् यहाँ जम्मै कथाहरूको वैशिष्ट्य केलाउने प्रयास गरिएको छ।

1.   
कथावस्तु  कथावस्तु कुनै पनि कथाको शारीरिक
ढाँचा हुन्छ। यसैका वरिपरि कथाका अरू अवयवहरू घुम्ने गर्दछन्।
संक्षिप्तता कुनै पनि कथाका कथावस्तुको अनिवार्य
गुण हुन्छ। कथावस्तुका पाँच चरणहरू हुन्छन् – आरम्भ
, विकास, कौतुहल, चरमसीमा र अन्त,
तर सबै कथाहरूमा यी पाँचै चरणहरू प्राप्त हुँदैनन्। धेरैजसो कथाहरूमा कथावस्तुले
सङघर्षको स्थितिलाई पार गरेको देखिन्छ। कुनै कथा विकासमा पुगेर पाठकको मनमा कौतुहल
जगाउँदै चरम सीमामा पुग्ने गर्दछन् र यहीँ कथा समाप्त भएका हुन्छन्।

औडाहामा बाँचेको
जीवन
मा सङ्कलित जम्मै
कथाहरूका कथावस्तु आआफ्नै किसिमका छन्। अपराध कथामा घरकी चाकर्नीले आफ्नो
कर्महीन तर माया गर्ने पतिको मद्दत गर्न आफ्नै मालिकका घर चोरी गर्नु, पकडा पर्नु,
साँचो कुरा बोल्दा मालिकबाट माफी पाउनु यस कथाको कथावस्तु हो। बन्धन कथामा
रक्सी र विलासितामा चुर्लुम्म डुबेको कर्तव्यच्युत पुरुषबाट जन्मिएको विषम परिस्थतिले
अर्द्ध विक्षिप्त भएर आत्महत्या गर्ने अवस्थामा पुगेकी विमला प्रकृतिबाट प्रेरित
भएर आफ्नो सन्तान पाल्ने निर्णय गर्छे। औडाहामा बाँचेको जीवनमा पनि
रक्सीको कुलत लागेर बिग्रिएको धने बनीबुतो गरेर दसदसवटा छोराछोरी पाल्ने आफ्नी
स्वास्नीले कमाएको चारामा आठाना पनि लुछेर खान्छ र नभेटे उसलाई कुटेर मरणान्त
पार्न पनि पछि सर्दैन। यसमा कुव्यसनी पति प्रताडिता नारी जीवनको कारुणिक कथा छ। आत्महत्या
कथामा कुरूप सामाजिक सोचले पढ्ने इच्छामा कुठाराघात गरेर आत्महत्या गर्न
पुग्ने अञ्जनाको कथा छ भने दुर्वहमा धेरै सन्तान कष्टको कारण हो भन्ने
कुरालाई चरितार्थ गर्न खोजिएको छ। प्रायश्चित कथामा छोराको इच्छाबिना
पिताले पण्डितकी छोरीसँग जनैसुपारी गरिदिनु, बाध्यतामा बिहे गर्नु, फेरि
प्रेमिकासँग भाग्नु, छुटाराम हुनु र अन्तमा आफ्नै घर फर्किएर भूलको प्रायश्चित
गरेको आदर्शमूलक कथा बुनिएको छ भने बेहोसमा कुनै फिल्मी दुनियामा हुने घटना
जस्तो कथाले पाठकलाई मुम्बई नगरी घुमाउँछ।

पछुतोमा सन्तान बढी भएर घरमा खाने पिउने र अन्य मूलभूत
आवश्यकताका लागि सँधै महाभारत हुने, आफ्नो परिवारमा मात्रै अशान्ति नफैलाएर गाँउ
घरमा पनि बाधा पुऱ्याउने काम नरेको परिवारले गरेको र घरझगडा मिलाउन गाँउका मानिस
आउन कर लाग्नु र सबै स्वाहा भएपछि बुद्धि पलाएको कथा छ भने धर्म सङकट,
फुल्लेश्वरीको विवाह, भोलाको नोकरी
मा आधुनिक परिवेशमा, समस्या र त्यसका चपेटमा
परेका पात्रहरूको कथा बुनिएको छ।

2. पात्र 

आधुनिक कथामा यथार्थको मनोविज्ञानमा बल दिइन्छ, त्यसैले पात्रहरूको चरित्र
चित्रणलाई बढि महत्व दिएको पाइन्छ। अब घटना र कार्य व्यापारको ठाउँमा पात्र र उसको
सङ्घर्ष कथाको मूल धुरी खाँबो बनेको देखिन्छ।

आलोच्य कथा सङ्कलनका कथाहरूमा समाजका विभिन्न
वर्गको प्रतिनिधित्व गर्ने पात्रहरूको चयन कथाकारले बडो कुशलताका साथ गरेका छन्। यी
जम्मै पात्रहरू पाठकलाई आफ्नै वरिपरि जीवन जिउने मानिस सरह प्रतीत हुन्छन्। पुरुष
पात्रहरूमा दुई किसिमका पात्रहरू देखा परेका छन्। पहिलो वर्गका पात्रहरूमा सभ्य, ज्ञानी
सामाजिक जागरूकताको चेतना भएका पात्रहरू पर्दछन्। यस्ता पात्रहरूमा स्वयं लेखक, पछुतो
कथाका भोला पण्डित, धर्मसङ्कटको शेखर, फुल्लेश्वरीको बिहेको साने,
धर्मानन्द उपाध्याय आदि पर्दछन्। अर्का वर्गका पात्रहरूमा रक्स्याहा, स्वास्नी
प्रताडित गर्ने, कुलतमा लागेर आफ्नो परिवार स्वाहा पार्ने, अशिक्षित, अदूरदर्शी,
कर्मक्षेत्रको बाटो बिराएका पात्र पर्दछन्। यस्ता पात्रहरूमा अपराधको मदन, औडाहामा
बाँचेको
जीवनको धने, आत्महत्याको दिलबहादुर क्षेत्री, दुर्वहको
शिवशङ्कर, फुल्लेश्वरीको बिहेको अन्तरे सार्की, जेठा धमाला आदि पर्दछन्।

आलोच्य कथासङ्कलनका
नारी पात्रहरूमा सबै हतास, निराश र पति प्रताडित, घरेलू हिंसाका शिकार देखिन्छन्।
बन्धन
की विमला पति प्रताडनाले विक्षिप्त हुन पुगे तापनि सन्तानप्रति
कर्तव्यबोध भएकी पात्रको रूपमा देखा पर्दछे। नाम मात्रको र कर्महीन पतिबाट घरेलू
हिंसामा ज्यानै गुमाउन आँटेकी औडाहामा बाँचेको जीवन कथाकी पात्रा मने
सन्तानको जिम्मेवारी एक्लै निभाउने जिम्मेदार नारी पात्र हो। आत्महत्या की
पात्रा अञ्जना पनि पुरुष वर्चस्वको शिकार हुन पुगेकी पात्र हो। पढने रहर छँदाछँदै
नाबालिग अवस्थामा जबर्दस्ती विवाह गरिदिएकी अञ्जना आफूप्रति गरिएको अत्याचारको मौन
विरोध आत्महत्या गरेर गर्दछे। यो मृत्यु नारी अधिकार कुल्चिने समाजको एउटा कुरूप
अनुहारको रूपमा देखा परेको छ। फुल्लेश्वरीको बिहेकी फुल्लेश्वरी नारी
अधिकारका लागि विद्रोह गर्ने पात्रको रूपमा देखा पर्दछे यसमा उ नाबालिग अवस्थामा
बलजफत मन नपराएको मानिससँग विवाह गर्ने जमर्कोको विद्रोह आफ्नो प्रेमीसँग भागी
बिहे गरेर गर्दछे। दुर्वहकी सावित्री, प्रायश्चितकी दुर्गावती, पछुतोकी
च्यान्टेकी आमा सबै पुरुषको कर्तव्यहीनताका शिकार हुन पुगेका पात्राहरूको रूपमा
देखा परेका छन्।

बेहोशकी आशा शिक्षित र एक्लै आँट गरेर मुम्बई जस्तो
ठाउँमा बस्न बाध्य नारी हो भने धर्मसङ्कटकी
शशि शिक्षित भए तापनि निर्णय लिन नसक्ने दोधारमा उभिएकी पात्राको रूपमा देखा परेकी
पात्र हो।

3. देशकाल/ वातावरण

आलोच्य कथासङ्ग्रहमा सङ्कलित कथाहरूमा देशकाल र वातावरणको राम्रो सिर्जना
भएको छ। दुइटा कथा बाहेक अरू जम्मै कथाहरू पूर्वोत्तर भारतको पृष्ठभूमिमा सृजिएका
छन्। बन्धन कथाका प्रेमी युगल आफ्नो प्रेम बचाउने थलो अरुणाचललाई बनाउँछन्
भने, प्रायश्चितको पीताम्बर र चमेली नागाल्याण्डतिर लाग्दछन्। यसरि नै अन्य
कथाहरूमा महाबाहु ब्रह्मपुत्र, सदिया, चापाखोआको उच्च माध्यमिक विद्यालय जस्ता
असमका मूल ठाउँहरूको वर्णन भएको छ। बेहोसधर्मसङ्कट कथामा मुम्बई
र दिल्ली शहरको वर्णन भएको छ।

परिवेश निर्माणमा
पनि लेखक सिद्धहस्त देखिएका छन्। अशिक्षित र कर्तव्यहीन मानिसहरूको घरेलु स्थिति
कस्तो हुन्छ भन्ने कुरा बुझाउनलाई लेखकले राम्रो वातावरणको सृष्टि गरेको देखिन्छ।
यस्तै वातावरण अन्य कथाहरूमा पनि देखिएको छ। यसरी नै पात्रहरूको आन्तरिक वातावरणको
सिर्जनामा पनि लेखकले राम्रो सूझबूझ देखाएका छन्। बन्धन कथाकी पति
प्रताडिता विमलाको विक्षिप्तावस्थाको चित्रण, पछूतो कथामा धेरै सन्तान
हुनका साथै भनेको नमान्ने हठी पतिको अहंले सृजिएको पारिवारिक बेथितिले च्यान्टेकी
आमा कटु वाणी बोल्ने आमामा परिणत हुन बाध्य भएकी छे। उसको व्यवहार उसको अवचेतनमा
स्थित अभाव, क्रोध, लाचारी, गरीबी अवस्थालाई प्रष्टयाउन पर्याप्त छ। यसरी केही
कथाहरूले पात्रहरूको मनोजगतलाई पनि छोएको देखिन्छ। यो स्थिति धर्मसङ्कटकी
नायिका शशिमा पनि देखा परेको छ।                                                                                                                                                                                                                                                             
                   

4. सम्वाद योजना

कथामा सम्वादले कथानकलाई अघि बढाउनमा महत्वपूर्ण
भूमिका खेलेको हुन्छ।
लामा लामा भाषण वा तर्क-वितर्कले
भरिएका सम्वादहरू कथामा अपवाद मानिन्छन्। नाटकीयता ल्याउनका लागि ससाना सम्वादहरूको
प्रयोग कथामा हुनु अनिवार्य मानिएको छ। सम्वाद
, देश काल, पात्र र परिस्थिति अनुरुप छोटा, रोचक
तर्कयुक्त, कथाक्रमलाई अघि बढ़ाउने
, पात्रहरूको चरित्रलाई छर्लङ्याउने खालका
सम्वाद हुनु पर्ने कुरा विद्वानहरूले बताएका छन्।
 

आलोच्य
कथासङ्ग्रहमा सङकलित धेरै जसो कथाहरू वर्णनात्मक शैलीमा लेखिएका छन्। सम्वादहरू
कतै छोटा र बान्की परेका देखिन्छन् भने कतै लामा सम्वादहरू पनि लेखिएका छन्। छोटा
सम्वाद, जस्तै-

1.          
कता
हिँडयौ विमला
?”

——————-

म कहाँ जाँदैछु ….. ? मलाई सोध्ने को हो ………….. ? बाटो हिँडने पनि मेरो अधिकार छैन ? यहाँ मेरो को छ ? ? ? ?” (पृष्ठ 5)

2.          
मने त
बाँच्तिन होला, अब के गर्छौ छिटो गर।
(पृष्ठ 9)

3.          
तिम्रो
घर कहाँ पऱ्यो
?”

यहाँबाट 10 किलोमिटर पर गाँउमा।

कहाँ बसेर कलेज गर्छ्यौ?”

बजारमा भाडा गरेर बसेकी छु।(पृ.41)

कथामा कतै
कतै लामा सम्वाद पनि प्रयोग भएका छन्, तर लामा सम्वादले कथाको तारतम्यता र
कौतुहलतामा कुनै बाधा पुऱ्याएको देखिँदैन। कथाका धेरै पाटाहरू वर्णनात्मक शैलीमा अघि
बढ़ेका हुनाले सम्वादात्मकताको प्रयोग थोरै मात्रामा भएको छ, तर जम्मै सम्वादहरू
सार्थक र कथावस्तुलाई अघि बढाएर लैजाने खाल्का छन्। समग्रमा भन्नु हो भने सम्वादको
दृष्टले पनि यी कथाहरू सफल देखिन्छन्।

 

5. भाषा शैली

कथालाई प्रभावशाली बनाउनका लागि लेखकहरूले थोरै शब्दमा धेरै भन्ने कलामा
निपुण हुनुपर्छ भन्ने कुरा विद्वानहरूले बताएका छन्।

भाषामा पूर्ण अधिकार हुनु, कथाको भाषा सरल, स्पष्ट व विषय अनुरूप हुनु, दुरूह नभएर प्रभावशाली हुनु अनिवार्य
हुन्छ।
कथाकारले आफ्नो विषय अनुरूप पस्किने शैलीको
चयन गरेका हुन्छन्। आत्मकथात्मक
, वर्णनात्मक, डायरी, नाटकीय शैली, पूर्व दीप्ति जस्ता कुनै
पनि शैलीहरूको प्रयोग लेखकले गर्न सक्दछन्।

औडाहामा बाँचेको जीवनमा सङ्कलित
कथाहरूमा पनि विभिन्न शैलीहरूको प्रयोग गरिएको छ। अपराध कथा सम्बोधन शैलीमा
लेखिएको छ भने बन्धन सम्वाद शैलीमा ढालिएको छ। औडाहामा बाँचेको जीवन,
आत्महत्या, दुर्वह, प्रायश्चित, बेहोस, धर्मसङ्कट, फुल्लेश्वरीको बिहे, भोलाको
नोकरी
मा वर्णनात्मक शैलीको दर्शन हुन्छ भने पछुतोमा आत्मकथात्मक शैली
देख्न पाइन्छ।

6. उद्देश्य

प्राचीन कथाको उद्देश्य मात्रै मनोरञ्जन या उपदेश दिनु हुन्थ्यो तर आज
विभिन्न सामाजिक परिस्थितिहरू, जीवनप्रति विशेष दृष्टिकोण वा कुनै समस्याको समाधान
र जीवन मूल्यहरूलाई उजागर गर्नु कथाको उद्देश्य मानिन्छ। अर्को कुरा के हो भने,
कथामा नियमहरूको पालना मात्रै गरेर हुँदैन। यदि त्यसमा पाठकको मर्म छुने गुण छैन
भने त्यो कथा सफल भन्न सकिँदैन। यदि कथाले पाठकको मनमा अद्भुत प्रभाव पार्न सफल भएमा
कथाकारको उद्देश्य सफल मानिन्छ।

औडाहामा बाँचेको जीवन सङग्रहमा सङ्कलित
कथाहरूको उद्देश्य सामाजिक जागरण हो। धेरैजसो कथाहरूमा नारी जीवनका विविध पक्षलाई
केलाइएको छ। कथाका जम्मै नारी पात्रहरू पुरुष प्रताडिता छन्। केहि पुरुष पात्रहरूलाई
छाडेर जम्मै पात्रहरू पत्नी प्रताडित गर्ने, गैर जिम्मेदार, कुलत र कुव्यसनले ग्रस्त
छन्। यस्तो अवस्थामा सामाजिक उन्नति कहिल्यै पनि हुँदैन भन्ने सन्देश दिने प्रयास
गरिएको छ। यसका साथै समाजमा औँलामा गन्न सकिने शिक्षितहरूको समाज सुधारमा ठूलो
भूमिका हुन्छ। शिक्षाको उज्यालो समाजका सबै तहमा पुग्नु पर्छ। यदि नपुगेमा फुल्लेश्वरीको
बिहे
की फुल्लेश्वरी, आत्महत्याकी अञ्जना, प्रायश्चितको
पीताम्बरको झैं हाल हुन्छ भन्ने सन्देश यी कथाहरूले बोकेको छ। यसका साथै जनसङ्ख्या
वृद्धि वा धेरै सन्तान कष्टको कारक हुन्छन् भन्ने कुराको खुलासा पनि यी कथाहरूमा
भएको छ। समग्र रूपमा भन्नु हो भने जम्मै कथाहरूको उद्देश्य सामाजिक जागरण हो।

भाषिक दृष्टिले पनि यस सङग्रहका कथाहरू सफल छन्। जम्मै कथामा सरल, बोधगम्य,
जन साधारणले बोल्ने नेपाली भाषाको प्रयोग भएको देखिन्छ। कतै पनि भाषिक दुरूहता
देख्न पाईँदैन। समग्र भनाइमा यी कथाहरू साधारण भन्दा साधारण नागरिकदेखि लिएर उच्च
स्तरका शिक्षित वर्गसम्मका मानिसहरूका लागि बोधगम्य छन्।

    
………………………………………. 

सन्दर्भ –

1.          
औडाहामा बाँचेको
जीवन – छविलाल उपाध्याय, प्रकाशक- श्रीमति विष्णुमाया उपाध्याय, 2016

Author

  • डॉ.गोमा देवी शर्मा (अधिकारी)

    डॉ.गोमा देवी शर्मा (अधिकारी) गुवाहाटी, असम की निवासी हैं और पेशे से एक शिक्षिका हैं। इन्होंने हिंदी विषय में स्नातक, स्नात्कोत्तर, बीएड एवं पीएचडी मणिपुर विश्वविद्यालय से और नेपाली में गुवाहाटी विश्वविद्यालय के आइडोल केंद्र से की है। ये मूल रूप से नेपाली, हिंदी और अंग्रेजी में लिखती हैं। ये पूर्वोत्तर भारत की एक हिंदी सेवी हैं। ये भारतीय नेपाली साहित्य की अध्येता हैं। इनकी हिंदी तथा नेपाली में कई पुस्तकें प्रकाशित हैं

Leave a Comment

error: Content is protected !!